मेसीको खुट्टाको चोट सामान्य, तर ज्वरोबाट ग्रसित

काठमाडौं। अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले खुट्टामा लागेको चोट गम्भीर नभएको बताएका छन्।
आफ्नो ३७ औं जन्मदिनको एक दिनपछि कोपा अमेरिकाअन्तर्गत चिलीविरुद्ध खेलिएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको थियो। उक्त खेलमा मेसीले चोट बोक्न पुगेका थिए।
खेलको २४ औं मिनेटमा ग्याब्रियल सुआजोले फउल गरेपछि करिब दुई मिनेटसम्म मेसीको दाहिने खुट्टाको तिघ्रामा प्राथमिक उपचार गरिएको थियो।
तर, मेसी मैदानमै रहे। खेलपछि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘यो कुनै गम्भीर कुरा होइन। यसले मलाई केही सताइरहेको छ तर मैले खेल समाप्त गर्न सफल भएँ। मलाई हिँडडुल गर्न गाह्रो भएको थियो।’ मेसीले पछिल्ला दिनहरुमा आफूलाई घाँटी दुख्ने र ज्वरो आउने समस्या पनि देखिएको बताएका छन्।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले खेलपछि मेसीसँग कुरा नगरेको बताए। खेलको ८८ औं मिनेटमा मेसीको कर्नरमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका थिए। योसँगै अर्जेन्टिना ६ अंक जोड्दै नकआउटमा प्रवेश गरेको छ।
स्कालोनीले समूह ‘ए’ अन्तर्गत पेरुविरुद्ध फ्लोरिडामा शनिबार हुने अन्तिम खेलमा केही खेलाडीलाई आराम दिने योजना रहेको बताएका छन्। मियामी गार्डेन्समा पेरुसँग पराजित नभए अर्जेन्टिना समूह विजेता हुनेछ भने क्यानडाले चिलीलाई ओर्लान्डोमा एकैसाथ हुने खेलमा पराजित गरे गोल अन्तरमा अर्जेन्टिनालाई उछिन्न सक्छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)