वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको लक्ष्य
सोमबार, १० असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। वेस्ट इन्डिजले आइसिसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३५ रन बनाएको हो।
वेस्ट इन्डिजका रोस्टन चेजले सर्वाधिक ५२ रन बनाए। ४२ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे। काइल मेयर्स ३५ र आन्द्रे रसेल १५ रनमा आउट हुँदा अल्जारी जोसेफ ११ र गुडाकेश मोटी चार रनमा अविजित रहे।
दक्षिण अफ्रिकाका तबरेज शम्सीले सर्वाधिक तीन विकेट लिए। मार्को यानसन, एडन मार्क्रम, केशव महाराज र कगिसो रबाडाले समान एक विकेट लिए।









