विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
मंगलबार, २२ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ।
डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९: १५ बजेबाट सुरु हुने छ। नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको छ। दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन्।
यी दुई टोलीबीच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीको छ। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।
सन् २०२१ को कुरा गर्ने हो भने दुई टोलीबीच ६ वटा खेल भएका छन् र दुवैले तीन–तीन खेल जितेका छन्। ट्वान्टी–२० विश्वकपमा दुवै टोली पहिलो पटक भिड्दैछन्।









