रियललाई डर्टमन्डसँग फाइनलको डर

काठमाडौं। रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले बेम्बलीमा शनिबार बोरुसिया डर्टमन्डविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल्दा आफ्ना खेलाडीले डर महसुस गर्ने बताएका छन्। मध्यरात १२: ४५ बजे सुरु हुने उपाधि होडमा कीर्तिमान १४ पल्टको विजेता रियललाई जर्मन टिमविरुद्ध बलियो मानिएको छ।
स्पेनी महारथीको बागडोर सम्हालेका एन्सेलोटी प्रतियोगिताकै सर्वाधिक चारपल्टका च्याम्पियन प्रशिक्षक हुन्। तर, ती सफलताले यो सिजन बुन्डेसलिगा पाँचौं स्थानमा टुंग्याएको डर्टमन्डविरुद्ध जितको कुनै ग्यारेन्टी दिने छैन।
‘च्याम्पियन्स लिग फाइनल निक्कै महत्त्वपूर्ण खेल हो र सबैभन्दा खतरनाक पनि,’ इटालियन प्रशिक्षक एन्सेलोटीले भने, ‘यसमा केही भाग्यमानी हुनै पर्छ, राम्रो खेल्न र रक्षात्मक खेल कहिल्यै फितलो हुन दिनुहुन्न। तर, जब अन्तिम सफलताको नजिक पुगिन्छ, तब चिन्ता सुरु हुन्छ नै।’
घरेलु प्रतियोगितामा डर्टमन्ड पूरा सिजन संघर्षरत रह्यो। तर, उसले युरोपमा उत्कृष्ट प्रदर्शन गरेको छ। फाइनलको उसको स्पेनी प्रतिद्वन्द्वी रियलको अवस्था प्रतियोगिताको अन्त्यतिर ठ्याक्कै उल्टो रह्यो।
रियलले अन्तिम आठको प्रतिस्पर्धामा गत वर्षको विजेता म्यानचेस्टर सिटीलाई टाई ब्रेकरमा पराजित गरेको थियो। उसले सेमिफाइनलमा अन्त्यतिर दुई गोल गरेपछि मात्रै बायर्न म्युनिखको चुनौती पन्छाएको थियो।
‘यो तरबारको दोहोरो धार हो, जसलाई उच्चतम रूपमा उपयोग गर्नुपर्छ। जब गलत भयो भने चिन्ता सुरु हुन्छ, किनभने हामी फुटबलमा सबैभन्दा महत्त्वपूर्ण कुराको नजिक पुगेका छौं,’ एन्सेलोटीले भने, ‘डर अत्यधिक छ र यो सामान्य नै हो। अन्त्यमा जित हात पार्न सकियो भने पहिलाको बढी डरले पनि खुबी नै बनाउँछ।’
डर्टमन्डका मिडफिल्डर जुलियन ब्रान्ड्टलाई रियलविरुद्ध प्रतिस्पर्धाको लागि कुनै पनि किसिमको भ्रम छैन। ‘रियल अन्तिम प्रतिस्पर्धी हो,’ उनले भने, ‘सफलता र इतिहासको आधारमा च्याम्पियन्स लिगमा अरू कोही ठूलो छैन। तर, हामीले विश्वास गरेनौं भने डर्टमन्डमै बस्नुपर्छ।’
एन्सेलोटीले बिरामी भएका गोलकिपर आन्द्रेय लुनिनको स्थानमा बेल्जियन टिबाउट कोर्टियसलाई खेलाउने निश्चित गरेका छन्। रियलले ११ वर्षयता छैटौंपल्ट उपाधि जित्यो भने ल्युका मोडरिच, ड्यानी कार्भाहाल, टोनी क्रुज र नाचोले पनि कीर्तिमान छैटौंपल्ट विजेताको पदक हात पार्नेछन्। यसअघि त्यो उपलब्धि रियलका फ्रान्सिस्को गेन्तोले सन् १९५६ देखि १९६६ बीचमा हासिल गरेका थिए।
‘सबैले भनिरहेका छन् कि हामी प्रमुख दाबेदार हौं तर त्यस्तो होइन, ५०–५० देख्छु,’ मोडरिचले भने, ‘डर्टमन्ड ठूलो क्लब हो। उसले यो सिजन च्याम्पियन्स लिगमा राम्रो गरेको छ। उसले हामीलाई धेरै कठिन पार्नेछ।’
डर्टमन्ड सन् १९९७ कै परिस्थितिमा रहेको छ, जुन बेला उसले ‘अन्डरडग’ को रूपमा रहेपनि म्युनिखमा भएको फाइनलमा युभेन्ट्सलाई ३–१ ले पराजित गरेको थियो। ‘हामी यहाँ खुसी छौं तर यहाँ जित्नका लागि आएका छौं,’ डर्टमन्डका मुख्य प्रशिक्षक एडिन तेर्जिचले भने, ‘यहाँ फाइनल खेल्न कोही आउँदैन, जित्नकै लागि आउँछन्। हामी आफ्नो हातमा त्यो ट्रफी राख्न चाहन्छौं।’






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)