कोहलीले गेललाई दिए आईपीएल खेल्न आउन निमन्त्रणा

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरले लिग चरणको अन्तिम खेलमा चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफको लागि क्वालिफाई गरेको थियो।
तर, आईपीएल २०२४ को शुरूमा बेंग्लोरले आफ्नो पहिलो ८ खेलमा १ जित मात्र हासिल गरेको थियो। एक समय सबैलाई लागेको थियो, बेंग्लोर आईपीएलबाट बाहिरिने पहिलो टोली हुनेछ। तर, टोलीले सबैलाई मौन बनायो र पुनरागमन गर्दै लगातार ६ जित दर्ता गरेर प्लेअफमा स्थान बनायो।
त्यसैले बेंग्लोर र उसको समर्थकको खुशीको कुनै सीमा थिएन। यसैबीच, बेंग्लोर क्याम्पको एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ। जसमा विराट कोहलीले क्रिस गेललाई अर्को वर्ष आईपीएल खेल्न आउन निमन्त्रणा दिइरहेका छन्।
भाइरल भिडियोमा कोहलीले पहिला क्रिस गेललाई अँगालो हाल्छन् र भन्छन्- यस पटक मैले लिगमा सबैभन्दा बढी छक्का प्रहार गरेको छु।
त्यसपछि गेलले सोध्छन्- कति?
कोहलीले जवाफ दिन्छन्- मैले आईपीएल २०२४ मा अहिलेसम्म ३७ छक्का प्रहार गरिसकेको छु ।
त्यसपछि कोहलीले गेललाई भन्छन्- काका, तपाइँ अर्को वर्ष आईपीएल खेल्न आउनुस्। इम्प्याक खेलाडीको रूपमा फिल्डिङ गर्न आवश्यक छैन। यो नियम तपाइँको लागि मात्र बनाइएको हो।
Chris Gayle and Virat Kohli in the RCB dressing room together - nostalgia max! 🥹
— Royal Challengers Bengaluru (@RCBTweets) May 20, 2024
Virat jokingly asks Chris to come back to the #IPL - what do you think about it, 12th Man Army? 😉#PlayBold #ನಮ್ಮRCB #IPL2024 pic.twitter.com/Bj9HVFfVka
त्यसपछि विराट हाँस्न थाल्छन्। बेंग्लोर लिग चरणमा अंक तालिकामा चौथो स्थानमा रह्यो। त्यसैले बेंग्लोरले तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स भिड्ने छ। एलिमिनेटर राउन्ड २२ मेमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
तर, यो खेल जितेर टोलीले क्वालिफायर २ खेल्नुपर्नेछ । त्यसपछि जिते मात्रै फाइनलमा पुग्न सकिने छ। बेंग्लोरका लागि फाइनल त्यति सजिलो छैन । टोलीले धेरै कठिनाइहरूको सामना गर्नुपर्नेछ।









