५ महिनामै बन्यो विश्वकप खेलाउने क्रिकेट रंगशाला

काठमाडौँ। न्यूयोर्कको आइसेनहोवर पार्कले आईसीसी टी–२० विश्वकप आयोजना गर्ने तयारी गरेको छ। ३४ हजार दर्शक क्षमताको यो रंगशालाको बुधबार विश्वका तीव्रगतिका धावक तथा विश्वकपका राजदूत उसन बोल्टले औपचारिक रूपमा उद्घाटन गरे।
१ जुनदेखि वेस्ट इन्डिज र अमेरिकामा शुरू हुने विश्वकपअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यस मैदानमा केही परीक्षण गर्नेछ। अमेरिकामा हुने प्रतियोगिताका ८ खेल न्यूयोर्कमा हुने तय भएको छ।
जसमध्ये ४ डलास र ४ टेक्सासमा हुनेछन्। पहिलो खेल नासाउ काउन्टीको आइसेनहोवर पार्कमा खेलिनेछ। जुन ३ जुनमा दक्षिण अफ्रिका र श्रीलंकाबीच हुनेछ।
१ जुनमा आइसेनहोवर पार्कमा अभ्यास खेल पनि हुनेछ। उक्त अभ्यास खेलमा बंगलादेश र भारत भिड्ने छन्। प्रतियोगितामा भारतीय टोलीले न्यूयोर्कमा ९ जुनमा हुने भारत-पाकिस्तानबीचको महत्त्वपूर्ण खेलसहित तीन खेल खेल्नेछ।
आइसेनहोवर पार्कलाई एक स्टेडियममा रूपान्तर गर्ने काम ५ महिना पहिलेदेखि शुरू भएको थियो। यसका लागि फ्लोरिडामा कृत्रिम पिच डिजाइन गरिएको थियो। त्यसपछि मुख्य स्टेडियम र अभ्यास क्षेत्रमा पिच राखिएको थियो।
मुख्य मैदानमा १० पिच र मैदाननजिकै ६ पिच राखिएका छन्। पिचहरू एडिलेड ओभल टर्फ सोलुसनका प्रमुख र एडिलेड ओभलका प्रमुख क्युरेटर डेमियन हगले डिजाइन गरेका हुन्।
मैदानको आउटफिल्ड क्षेत्र अमेरिकाको ल्यान्डटेक समूहले तयार गरेको हो। जसले बेसबलमा न्यूयोर्क यान्कीज, न्यूयोर्क मेट्स र फुटबलमा इन्टर मियामीका लागि मैदान तयार गर्दै आएको छ।









