एपीएफसँग कोशी पराजित

काठमाडौँ। विभागीय टोली एपीएफले ललितपुर मेयर्स कपमा विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई २४ रनले पराजित गरेको हो।
जितसँगै एपीएफ शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स ११ को पनि २/२ अंक रहेको छ। तर, एपीएफ नेटरनरेटको आधारमा शीर्ष स्थानमा छ।
वर्षाका कारण खेल ५/५ ओभरको खेलाइएको थियो। एपीएफले दिएको ५७ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित ५ ओभरमा २ विकेट गुमाउँदै ३२ रन मात्रै बनाउन सक्यो।
कोशीकी कप्तान अप्सरा बेगमले अविजित रहँदै सर्वाधिक २५ रन बनाइन्। २० बल खेलेकी उनले २ चौका प्रहार गरे।
काजोल श्रेष्ठ ४ र सानु राजवंशी २ रनमा आउट हुँदा सबनम राई शून्य रनमा अविजित रहिन्। एपीएफकी सीता रानामगरले १ विकेट लिइन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५ ओभरमा ३ विकेट गुमाउँदै ५६ रन बनायो।
एपीएफकी इन्दु बर्माले अविजित रहँदै सर्वाधिक ३८ रन बनाइन्। अन्यको प्रदर्शन भने राम्रो हुन सकेन। कोशीकी एलिशा खडायत र हिरनमाया रोयले १/१ विकेट लिइन्।









