राजस्थानको जितमा सञ्जुको आक्रामक ब्याटिङ

काठमाडौँ। कप्तान सञ्जु सामसनको आक्रामक ब्याटिङसँगै शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
शनिबार राति सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो। लखनउले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै १९९ रन बनायो।
राजस्थानका कप्तान सञ्जुले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए। ३३ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। जोश बटलर ३४, यशस्वी जायसवाल २४ र रियान पराग १४ रनमा आउट हुँदा ध्रुव जुरेल ५२ रनमा अविजित रहे।
लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राको नाममा १/१ विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। कप्तान केएल राहुलले सर्वाधिक ७६ रन बनाए। ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे।
यस्तै, दीपक हुड्डाले ३१ बलमा ७ चौकासहित ५० रन बनाए। निकोलस पूरन ११ रनमा आउट हुँदा आयुष बदोनी १८ र क्रुणाल पाड्या १५ रनमा अविजित रहे।
राजस्थानका सन्दीप शर्माले सर्वाधिक २ विकेट लिए। ट्रेन्ट बोल्ड, आवेश खान र रवि अश्विनको नाममा १/१ विकेट रह्यो।
जितसँगै शीर्ष स्थानको राजस्थानले ९ खेलबाट १४ अंक जोडेको छ। पराजित लखनउ समान खेलबाट १० अंक जोड्दै चौथो स्थानमा यथावत् छ।









