एक महिनापछि लयमा फर्कियो बेंगलुरु

काठमाडौँ। रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दोस्रो जित हासिल गरेको छ।
बिहीबार रााति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराउँदै बेंगलुरु विजयी भएको हो। २५ मार्चमा पञ्जाब किंग्सलाई ४ विकेटले हराएपछि बेंगलुरुले ठिक एक महिनापछि दोस्रो जित हासिल गरेको हो।
पुछारमा रहेको बेंगलुरुले ९ खेलबाट ४ अंक जोडेको छ। ८ खेल खेलेको हैदरावाद १० अंकसहित शीर्ष ३ मा रहेको छ।
बेंगलुरुले दिएको २०७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो।
हैदरावाद शाहबाज अहमदले अविजित रहँदै सर्वाधिक ४० रन बनाए। ३७ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे। कप्तान प्याट कमिन्स ३१ र ओपनर अभिषेक शर्मा ३१ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।
बेंगलुरुका स्वप्रिल सिंह, करण शर्मा र क्यामरुन ग्रिनले २/२ विकेट लिए। विल ज्याक्स र यश दयालको नाममा १/१ विकेट रह्यो।
त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनाएको थियो।
बेंगलुरूका ओपनर विराट कोहलीले सर्वाधिक ५१ रन बनाए। ४३ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए।
रजत पाटिदार ५० र कप्तान फाफ डुप्लेसिस २५ रनमा आउट हुँदा क्यामरुन ग्रिन ३७ रनमा अविजित रहे।
हैदरावादका जयदेव उनाडकटले सर्वाधिक ३ विकेट लिए। टी नटराजनले २ विकेट लिँदा प्याट कमिन्स र मयंक मार्कण्डेको नाममा १/१ विकेट रह्यो।









