दिल्लीलाई हराउँदै हैदरावाद उक्लियो दोस्रो स्थानमा

काठमाडौँ। दिल्ली क्यापिटल्सलाई हराउँदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
शनिबार सम्पन्न खेलमा हैदरावादले दिल्लीलाई ६७ रनले पराजित गरेको हो। योसँगै ७ खेल खेलेको हैदरावादले ५ जितसहित १० अंक जोडेको छ। कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्सर लखनउ सुपर जायन्ट्सको ८ अंक रहेको छ।
शीर्ष स्थानमा रहेको राजस्थानको १२ अंक रहेको छ। पराजित दिल्लीको ८ खेलबाट ६ अंक रहेको छ। दिल्ली सातौँ स्थानमा छ।
हैदरावादले दिएको २६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९. ओभरमा सबै विकेट गुमाउँदै १९९ रन मात्रै बनाउन सक्यो।
दिल्लीका ज्या फ्रेजर म्याकगुर्कले सर्वाधिक ६५ रन बनाए। १८ बल खेलेका उनले ५ चौका र ७ छक्का प्रहार गरे। कप्तान ऋषभ पन्त ४४, अभिषेक पोरेल ४२ र पृथ्वी शा १६ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।
हैदरावादका टी नटराजनले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित १९ रन खर्चिए। मयंक मार्कण्डे र नितिशकुमार रेड्डीले २/२ विकेट लिँदा वासिङ्टन सुन्दर र भुवनेश्वर कुमारको नाममा १/१ विकेट रह्यो।
त्यसअघि अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनायो।
हैदरावादका ओपनर ट्राभिस हेडले सर्वाधिक ८९ रनको इनिङ्स खेले। ३२ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे।
अभिषेक शर्मा ४६, नितिशकुमार रेड्डी ३७, हेनरिक क्लासेन १५ र अब्दुल समद १३ रनमा आउट हुँदा शाहबाज अहमद ५९ रनमा अविजित रहे।
दिल्लीका कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ५५ रन खर्चिए। यस्तै, मुकेश कुमार र अक्षर पटेलको नाममा १ विकेट रह्यो।









