मुश्ताकले पाए बंगलादेशको स्पिन बलिङ प्रशिक्षकको जिम्मेवारी

काठमाडौँ। पाकिस्तानका पूर्व लेग स्पिनर मुश्ताक अहमद आगामी टी–२० विश्वकपसम्म बंगलादेशको स्पिन बलिङ प्रशिक्षक हुने भएका छन्।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)का अनुसार मुश्ताक अर्को महिना जिम्बाब्वेविरुद्धको टी–२० सिरिजअघि ढाकाको क्यापमा पुग्नेछन्।
मुश्ताकले भने, 'बंगलादेश क्रिकेट टोलीको स्पिन बलिङ प्रशिक्षकको रूपमा छनोट हुनु सम्मानको कुरा हो। म यो भूमिकाको लागि उत्सुक छु र खेलाडीहरूसँग मेरो सबै अनुभव बाँड्न चाहन्छु।'
मुश्ताकले रंगना हेरथलाई प्रतिस्थापन गरेका हुन्। हेरथले जुन २०२१ देखि दुई वर्षसम्म उक्त जिम्मेवारी सम्हालेका थिए।
मुश्ताकले मुख्य प्रशिक्षक चन्द्रिका हथुरुसिंघे, सहायक प्रशिक्षक निक पोथास, ब्याटिङ प्रशिक्षक डेभिड हेम्प र फास्ट बलिङ प्रशिक्षक आन्द्रे एडम्सलाई साथ दिनेछन् ।
मुश्ताकको स्पिन बलिङ प्रशिक्षकको रुपमा लामो करिअर रहेको छ । उनी सन् २००८ देखि २०१४ सम्म इङ्ल्यान्डको पुरुष टोलीसँग रहेका थिए। उनी सन् २०१४ देखि २०१६ र २०२० देखि २०२२ सम्म पाकिस्तानको स्पिन बलिङ प्रशिक्षक थिए।
मुश्ताक सन् १९९२ को विश्वकप जित्ने पाकिस्तानी टोलीका सदस्य थिए। उनले आफ्नो करिअरमा १४४ एक दिवसीय र ५२ टेस्ट खेलेका थिए।









