कार्तिकको आक्रामक ब्याटिङले टार्न सकेन बेंगलुरुको हार

काठमाडौँ। दिनेश कार्तिकको आक्रामक ब्याटिङका बाबजुद रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादसँग पराजित भएको छ।
सोमबार सम्पन्न खेलमा हैदरावादसँग बेंगलुरु २५ रनले पराजित भएको हो। हैदरावादले दिएको २८८ रनको लक्ष्य पछ्याएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन मात्रै बनाउन सक्यो।
बेंगलुरुका दिनेश कार्तिकले सर्वाधिक ८३ रन बनाए। ३५ बल खेलेका उनले ५ चौका र ७ छक्का प्रहार गरे।
कप्तान फाफ डुप्लेसिस ६२, विराट कोहली ४२ र महिपाल लोमर १९ रनमा आउट हुँदा अनुज रावत २५ र विजयकुमार विशाक १ रनमा अविजित रहे।
हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४६ रन खर्चिए। यस्तै, मयंक मार्कण्डेले २ तथा टी नटराजनले १ विकेट लिए।
त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २८७ रन बनाएको थियो।
हैदरावादका ट्राभिस हेडले सर्वाधिक १०२ रन बनाए। ४१ बल खेलेका उनले ९ चौका र ८ छक्क प्रहार गरे।
हेनरिक क्लासेन ६७ र अभिषेक शर्मा ३४ रनमा आउट भए। पहिलो विकेटका लागि अभिषेक र हेडले १०८ रनको साझेदारी गरेका थिए।
एडेन मार्कराम ३२ र अब्दुल समद ३७ रनमा अविजित रहे। बेंगलुरुका लकी फर्ग्युसनले सर्वाधिक २ विकेट लिए। रिस टोपलेको नाममा १ विकेट रह्यो।
जितसँगै चौथो स्थानमा रहेको हैदरावादको ६ खेलबाट ८ अंक रहेको छ। एक खेल बढी खेलेको बेंगलुरुले पुछारमा रहँदै २ अंक जोडेको छ।









