चेन्नईले लगायो कोलकाताको अपराजित यात्रामा ब्रेक

काठमाडौँ। कप्तान ऋतुराज गायकवाडको अर्धशतकप्रेरित चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ।
सोमबार राति सम्पन्न खेलमा चेन्नईले कोलकाताविरुद्ध ७ विकेटको जित हासिल गरेको हो। कोलकाताले सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलुरू र दिल्ली क्यापिटललाई पराजित गर्दै सानदार लय समातेको थियो।
जितसँगै ५ खेल खेलेको चेन्नई ६ अंकसहित चौथो स्थानमा छ। पराजित कोलकाता ४ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ।
कोलकाताले दिएको १३८ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुाउँदै १४१ रन बनायो।
चेन्नईका ऋतुराजले सर्वाधिक ६७ रन बनाए। ५८ बल खेलेका उनले ९ चौका प्रहार गरे। शिवम दुबे २८, डेरिल मिचेल २५ र रचिन रविन्द्र १५ रनमा आउट हुँदा धोनी १ रनमा अविजित रहे।
कोलकाताका वैभव अरोडाले २ र सुनील नारायणले १ विकेट लिए। त्यसअघि एम ए चिन्दबरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धाित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो।
कोलकाताका कप्तान श्रेयस अय्यरले सर्वाधिक ३४ रन बनाए। सुनील नारायण २७, अंगकृष रघुवंशी २४, रमनदीप सिंह १३ र आन्द्रे रसेल १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
चेन्नईका तुषार देशपाण्डे र रविन्द्र जडेजाले ३/३ विकेट लिएश्र मुस्तफिजुर रहमानले २ विकेट लिँदा महिश थीक्षणाको नाममा १ विकेट रह्यो।









