नेपालले जित्यो एसएमएस फ्रेन्डसिप कप

काठमाडौँ। घरेलु टोली गुजरातलाई पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा नेपाल १८ रनले विजयी भएको हो। नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो।
गुजरातका कप्तान उमंग रोहितकुमारले सर्वाधिक ४० रन बनाए। २८ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे।
आर्य देसाईं ३६, रुद्र मयूर पटेल १७ तथा जयमित पटेल र हर्ष देसाईं १५/१५ रनमा आउट भए। सरल प्रजापति र जय युवराज सिंह १०/१० रनमा अविजित रहे।
नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा कुशल मल्ल र करण केसीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि साई मेघपन स्पोर्ट्स लाइस वापीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।
ओपनर आशिफ शेखले ३४ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए। दोस्रो विकेटका लागि आशिफ र रोहितले ७७ रनको साझेदारी गरेका थिए।
कुशल भुर्तेल १९ र र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा अविजित रहे। गुजरातका शेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले १/१ विकेट लिए।









