गुजरातलाई १७७ रनको लक्ष्य
आइतबार, २५ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। कप्तान रोहितकुमार पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ।
साई मेघपन स्पोर्ट्स लाइस वापीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
नेपालका रोहितले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।
ओपनर आशिफ शेखले ३४ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए। दोस्रो विकेटका लागि आशिफ र रोहितले ७७ रनको साझेदारी गरेका थिए।
कुशल भुर्तेल १९ र र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा अविजित रहे।
गुजरातका शेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले १/१ विकेट लिए।









