दिल्लीविरुद्धको खेलमा फर्किएलान् सूर्यकुमार?

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनमा मुम्बई इन्डियन्सको शुरूआत अहिलेसम्म उनीहरूले चाहेअनुसार हुन सकेको छैन। पहिलो तीन खेलमा पराजय भोगेको मुम्बई अंक तालिकाको पुछारमा छ।
टोलीको ब्याटिङ अर्डरमा सन्तुलन नमिलेको प्रस्ट देखिन्छ। यद्यपि, सबैको आशा हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टोलीमा छ। मुम्बई व्यवस्थापनले गुजरात टाइटन्सलाई डेब्यू सिजनमै उपाधि दिलाएका हार्दिकलाई टोलीमा पुनरागमन गराएर कप्तानी जिम्मेवारी दिएको थियो।
रोहित शर्माजस्ता च्याम्पियन कप्तानको स्थानमा उनलाई यो जिम्मेवारी दिइएको हो। पहिलो तीन खेलमा गुजरात टाइटन्स, सनराइजर्स हैदरावाद र त्यसपछि राजस्थान रोयल्सले मुम्बईलाई पराजित गरेको थियो।
मुम्बईको संकटमोचक मानिने सूर्यकुमार यादव चोटका कारण अहिले प्लेइङ इलेभेनको हिस्सा बन्न सकेका छैनन्। टोली व्यवस्थापनले उनी छिट्टै फर्कने जानकारी दिइरहेको छ।
सूर्यकुमार शुक्रबार साँझ मुम्बई टोलीमा फर्किएका थिए। उनी खुट्टाको चोटका कारण नेसनल क्रिकेट एकेडेमी बेंगलुरुमा थिए। उनको चोट निको भइसकेको बताइन्छ। तर, उनी दिल्ली क्यापिटल्सविरुद्ध आइतबार हुने खेलका लागि पूर्णरुपमा फिट छ या छैनन् भनेबारे कुनै जानकारी आएको छैन।
सूर्यकुमार पछिल्लो पटक २०२३ डिसेम्बरमा क्रिकेट मैदानमा प्रवेश गरेका थिए। दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनको खुट्टामा चोट लाग्यो। उक्त खेलमा सूर्यकुमारले नै टोलीको कप्तानी गरेका थिए। यसबाहेक हालै उनको हर्नियाको पनि शल्यक्रिया गरिएको थियो।









